रविलाई थप चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति माग्यो

काठमाडौं । पुष २, सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति माग गरेको छ ।
मंगलबार अदालत उपस्थित गराइएका लामिछानेमाथि थप चार दिन हिरासतमा राख्न माग गरिएको कास्कीका एसपी श्यामबाबु ओलियाले बताए ।
प्रहरीले गोर्खा मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो । अदालतले उनीहरूलाई म्याद दिन भने बाँकी नै रहेको छ ।
सोमबार नै अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाइसकेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान थालेको ८४ दिनपछि सोमबार प्रहरीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको थियो ।
सो प्रतिवेदनमा लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाइएको छ । तीमध्ये ३७ जना फरार प्रतिवादी छन् । उनीहरूविरुद्ध १ अर्ब ५१ करोड बिगो मागदाबी गर्नुपर्ने प्रहरीको राय छ ।
त्यहीक्रममा छविलाल जोशीलाई ६ असोजमा प्रहरीले पक्राउ गरेको थियो भने लामिछानेलाई २ कात्तिकमा पक्राउ गरिएको थियो ।