साञ्जेन जलविद्युत् व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडियो
काठमाडौं । पुष २, चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले निर्माण गरेको साञ्जेन जलविद्युत् आयोजनाको बिजुली व्यावसायिक रूपमा राष्ट्रिय प्रणालीमा जोडिएको छ ।
सम्पूर्ण प्राविधिक परीक्षणलगायत काम सम्पन्न गरेर हिजो बेलुकादेखि साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा प्रवाह गरिएको हो ।
साञ्जेन जलविद्युत् आयोजनाले गएको मङ्सिर ८ गतेदेखि परीक्षण उत्पादन गर्दै आएको थियो । रसुवाको आमाछोदिङमो गाउँपालिका–५ मा निर्माण भएको यस आयोजनाको क्षमता ४२ दशमलव पाँच मेगावाट रहेको छ ।
सबै प्राविधिक परीक्षण सम्पन्न गरी त्यतिबेलै पहिलो युनिटबाट बिजुली उत्पादन गरिएको थियो । आयोजनाले ११ केभी क्षमताको आपत्कालीन प्रसारण लाइनमार्फत व्यापारिक रूपमा बिजुली प्रवाह गरिरहेको थियो ।
यस आयोजनाको विद्युत् प्रवाहका लागि कम्पनी आफैंले आठ किलोमिटर ११ केभी डबल सर्किट प्रसारण लाइन तथा १३२/११ केभी सबस्टेशन निर्माण गरेको थियो ।
साञ्जेन जलविद्युत् आयोजनाको व्यावसायिक उत्पादनसँगै बिजुली बढी माग हुने हिउँदका महिनामा हुने प्रणालीको असन्तुलन केही हदसम्म समाधान हुने विश्वास लिइएको छ ।