माओवादीद्धारा प्यालेस्टाइनमाथि इजरायली आक्रमणविरुद्ध देशव्यापी हस्ताक्षर शुरु

काठमाडौं । पुष २, प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्यालेस्टाइनमाथि इजरायली आक्रमणविरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाउन पार्टी मातहतका कमिटीलाई सर्कुलर शुरु गरेको छ ।
गत २८ मंसिरमा बसेको पार्टीको स्थायी समिति बैठकको निर्णयअनुसार पार्टीको मातहतको कमिटीमा पठाइएको सर्कुलरमा यो विषय छ ।
‘सर्कुलरमा भनिएको छ, ‘प्यालेस्टाइनमाथि इजरायली जनसंहारविरुद्ध संयुक्त हस्ताक्षर अभियानलाई देशव्यापी सञ्चलन गर्ने ।’
प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको आक्रमणविरुद्ध नेपालका विभिन्न वामपन्थी दल तथा नागरिक समाजका तर्फबाट हस्ताक्षर अभियान सञ्चालन भइरहेको छ ।
गत २४ मंसिरमा काठमाडौंको रत्नपार्किस्थित शान्तिबाटिकाबाट थालिएको अभियानको उद्घाटन कार्यक्रममा पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेका थिए ।
मानवताविरुद्धको अपराध तत्काल रोक्न दबाब दिने उद्देश्यले सुरू भएको संयुक्त हस्ताक्षर अभियानलाई देशव्यापी बनाउने नीति अनुसार सर्कुलर जारी भएको माओवादी नेताहरू बताउँछन् ।