शुक्रवारदेखि तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन शुरू हुने

सहयात्रा टिभी

काठमाडौं । पुष ३, पर्सि शुक्रवारदेखि तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन शुरू हुँदैछ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा यही डिसेम्बर २०, २१ र २२ अर्थात पुस ५, ६ र ७ गते हुने सम्मेलनमा समग्र नेपालको शिक्षा क्षेत्रको मार्गदर्शन तथा गुणस्तर अभिवृद्धिका लागि गर्न सकिने प्रयासका बारेमा छलफल हुनेछ ।

सन् २००३ देखि नै शुरु भएको सम्मेलन औपचारिक रुपमा यसअघि पहिलो सम्मेलन सन् २०१३ र दोस्रो सन् २०१९ मा भएको थियो ।

पूर्व प्राथमिक तहका कक्षाहरुदेखि नै गुणस्तरीय शिक्षा उपलब्ध गराई संयुक्त राष्ट्र सङ्घको दीगो विकासको लक्ष्य–४ मा रहेको गुणस्तरीय शिक्षा र नेपालमा विद्यालय क्षेत्र सुधार योजना अन्तर्गत काम गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको फाउण्डेसनकी अध्यक्ष शान्ता दीक्षितले बताउनुभयो ।

बाल केन्द्रित सिकाइको सुनिश्चितता गरेमा दीर्घकालीन र सार्थक सिकाइ हुने उद्देश्यसहित मन्त्रालयसँगको समन्वयमा सम्मेलन आयोजना गर्न लागेको उहाँको भनाइ छ ।

शिक्षा क्षेत्रका सात जना अन्तर्राष्ट्रियस्तरका विदेशी विज्ञसहित झण्डै पाँच सय जना शिक्षाकर्मीको सभागितामा हुने सम्मेलनमा गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा भएका अभ्यासहरुबारे छलफल गरी नेपाल सुहाउँदो शिक्षण र सिकाई विधिमा जोड दिइने छ ।

आउने दिनमा देशका सातवटै प्रदेशमा सम्मेलन आयोजना गर्ने लक्ष्य रहेको अध्यक्ष दीक्षितले बताउनुभयो ।

सम्मेलनबारे जानकारी दिन ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गुणस्तरीय शिक्षाकालागि नीति निर्माण र सरोकारवालाहरुको ध्यानाकर्षणका लागि सम्मेलन उपलब्धिमूलक हुने बताउनुभयो ।

 

प्रकाशित : 18 December, 2024

प्रतिक्रिया दिनुहोस्