भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन
काठमाडौं । पुस ११, भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ । अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) दिल्लीले सिंहको बिहीबार राति उपचारको क्रममा निधन भएको जनाएको हो ।
निवासमा अचानक बेहोस भएका सिंहलाई तत्काल एम्सको आपतकालीन विभागमा भर्ना गरिएको थियो । राति ९ : ५१ बजे उनको निधन भएको अस्पतालले जनाएको छ । सिंह सन् २००४ देखि २०१४ सम्म लगातार दुई पटक भारतको प्रधानमन्त्री बनेका थिए ।
भारतमा आर्थिक सुधारका लागि महत्त्वपूर्ण कार्य गरेको श्रेय सिंहलाई दिने गरिन्छ । प्रधानमन्त्री बन्नु अगाडि उनले वित्त मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस नेता राहुल गान्धी, प्रियंका गान्धी, कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड्गे लगायत शीर्ष नेताहरुले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले भारतले आफ्ना सबैभन्दा सम्मानित नेताहरुमध्ये एक डा. मनमोहन सिंहलाई गुमाएको बताएका छन् ।