प्रधानमन्त्री ओलीलाई बझाङ एमालेले बुझायो ११ बुँदे माग (पत्रसहित)
सहयात्रा टिभी
कैलाली । पुस १३, नेकपा एमाले जिल्ला कमिटी बझाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ११ बुँदे माग पत्र बुझाएको छ ।

शुक्रबार बालुवाटार पुगेर नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला प्रतिनिधि सभा इन्चार्ज ऐन महर, सुदुरपश्चिम प्रदेश सभा सदस्य दमन भण्डारी, प्रदेश कमिटी सदस्य जनक जोशी, सारदा विक, दल बहादुर धामी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर भण्डारी, उपाध्यक्ष लालबहादुर विष्ट, सचिव नयन बोहरा,उपसचिव पंकज भण्डारी, नेकपा एमाले जिल्ला कमिटी बझाङका निवर्तमान सचिव आनन्दलाल विस्वकर्मा लगायतका नेताहरुले प्रधानमन्त्री ओलीलाई ११ बुँदे माग पत्र बुझाएको हो ।
बझाङ जिल्लाको पुर्वाधार विकास तथा जनताको आर्थिक रुपमा जीवनस्तर उकास्नका लागि योजनाहरु छनौट तथा बजेट विनियोजनका लागि ११ बुँदे माग पत्र बुझाएको नेकपा एमाले जिल्ला कमिटी उपसचिव पंकज भण्डारीले बताए ।
मागपत्रमा खुटिया–दिपायल–चैनपुर–ताक्लाकोट सडकलाई राष्ट्रिय गौरवको आयोजनामा समावेश गरी यथेष्ट बजेट विनियोजन गर्नुपर्ने, भुकम्पबाट क्षेति भएका विद्यालयहरुको पुर्ननिमार्णका लागि बजेट विनियोजन तथा निकासा गरिनुपर्ने माग गरिएको छ ।

सेती नदीमा तटबन्धन, खप्तड पर्यटन बिकास, बझाङको सदरमुकाम चैनपुरमा सभाहल निर्माण, प्याराफिट सहितको खेलमैदान निर्माण, जडिबुटी खेती, संरक्षण तथा प्रशोधनका लागि छुट्टै आयोजना बनाउनुपर्ने नेकपा एमाले बझाङले माग गरेको छ । यस्तै कृषि तथा पशुपालन व्यवसाय र साना तथा लघुउद्यमका लागि विशेष आयोजना लागू गर्नुपर्ने मागपत्रमा भनिएको छ ।
त्यसैगरी शिक्षा, स्वास्थ्य तथा पर्यटन विकासका लागि विशेष कार्यक्रम, बझाङ जिल्लाको बीच भागमा बग्ने सेती नदी तथा खोलाहरुमा विद्युत उत्पादनको ठुलो सम्भावना रहेकोले नेपाल सरकार तथा निजि क्षेत्रबाट लगानीकर्ता परिचालन गराउन एमालेले माग गरेको छ ।
मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले जिल्ला अधिवेशन सम्पन्न भएकोमा खुसि व्यक्त गर्दै बधाई तथा धन्यवाद व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले सो मागहरुप्रति सकारात्मक रहेको भन्दै कार्यान्वयनका लागि प्रतिवदता समेत जनाएका छन् ।


