नेपालमा ‘राष्ट्रिय च्याउ दिवस’ मनाउँदै

सहयात्रा टिभी

काठमाडौं । पुस १५, हरेक १५ पुसमा नेपालमा ‘राष्ट्रिय च्याउ दिवस’ मनाइने गरिन्छ । च्याउ दिवस औपचारिक रूपमा मनाइरहँदा नेपाली उत्पादनले नै च्याउको माग धान्न सक्ने अवस्था भने छैन ।

च्याउ एक प्रकारको ढुसी हो, तर सबै ढुसी च्याउ होइनन् । च्याउले आफ्नो खाना आफैं बनाउन सक्दैन । च्याउ जरा र पात नभएको, फूल नफुल्ने र आँखाले नदेखिने, मसिनो धागो जस्तो रेसाले जेलिएर बनेका हुन्छन् । यी रेसालाई अंग्रेजीमा ‘माइसेलियम’ भनिन्छ ।

यिनीहरू कुहिएको वस्तुमा, चिसो र ओसिलो ठाउँमा उम्रिन्छन् । च्याउ अति नै पोषिलो र स्वास्थ्यबद्र्धक खाद्यवस्तु हो । त्यसैले विश्व बजारमा यसको माग अत्यधिक छ ।

नेपालमा हाल गोब्रे, कन्ये, सिताके, दुधे र राजा च्याउको व्यवसायिक खेती गरिँदै आएको च्याउ किसान संघले जनाएको छ ।

पछिल्लो समय तीव्र रूपमा च्याउ खेती विस्तार भइरहँदा पनि माग धान्न नसकेको च्याउ उत्पादक किसान बताउँछन् ।

च्याउ उत्पादक किसान संघका अनुसार नेपालका ७० जिल्लामा च्याउ खेती विस्तार भएको छ भने ४० जिल्लामा व्यावसायिक उत्पादन गर्ने किसान छन् ।

हाल च्याउ खेतीमा करिब ३५ हजार किसान आबद्ध छन् । संघका अनुसार च्याउको बीउ उत्पादन गर्ने ल्याब संख्या ६७ छ ।

संघ अध्यक्ष सन्तोष कार्कीका अनुसार किसानले वार्षिक करिब १५ अर्ब रुपैयाँको कारोबार गर्दै आएका छन् । उनका अनुसार नेपालमा अहिले वार्षिक १५ देखि २० करोडको च्याउ आयात हुने गरेको छ ।

च्याउमा देश आत्मनिर्भर बन्ने दिशामा अगाडि बढेको उनले बताए । डल्ले च्याउमा अब आत्मनिर्भर बन्ने अवस्था सिर्जना भइसकेको उनको भनाइ छ ।

सरकारले किसानलाई साथ दिए दुई÷चार वर्षमै आत्मनिर्भर बन्न सकिने कार्कीको दाबी छ । ‘आत्मनिर्भरताको यो यात्रामा सरकारले साथ दिए मुुलुक छिट्टै च्याउ आयात गर्नुपर्ने अवस्थाबाट निर्यात गर्ने अवस्थामा पुग्ने विश्वास छ,’ कार्कीले भने ।

च्याउ उत्पादक किसान संघले ९–२९ पुस २०७६ मा मेची–महाकाली ‘राष्ट्रिय च्याउ जागरण अभियान’ सञ्चालन गरेको थियो । पुस महिना मौसमका हिसाबले सबै खालको च्याउ उत्पादन हुने हुँदा पुसको कुनै एक दिन च्याउ दिवसका रूपमा घोषणा गराउन संघ र च्याउ उत्पादक किसानले प्रयत्न गरिरहेका छन् ।

राष्ट्रिय च्याउ जागरण अभियानको पहिलो कार्यक्रम १५ पुस २०७६ मा बागमती प्रदेश राजधानी हेटौंडामा सञ्चालन भएको थियो । सोही अनुसार हरेक वर्ष १५ पुसमा किसानले नै दिवस मनाइरहेका छन् ।

संघले च्याउ मेला तथा प्रदर्शनी सहित आज च्याउ दिवस मनाउँदै छ । भृकुटीमण्डपमा बिहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन हुने मेलामा ४० स्टलमा च्याउसँग सम्बन्धित विषयमा प्रदर्शनी रहने अध्यक्ष कार्कीले जानकारी दिए ।

मेलामा च्याउका विभिन्न परिकारका स्टल रहने छ । गोब्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिने छ ।

मेलामा प्रवेश निःशुल्क रहेको र च्याउका परिकार निःशुल्क चाख्न पाइने छ । मेलामा करिब १५ हजारले अवलोकन गर्ने अनुमान छ । मेला आयोजना गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने उनले बताए ।

 

 

प्रकाशित : 30 December, 2024

प्रतिक्रिया दिनुहोस्