सुशासन समितिले भ्रष्टाचार विधेयकको प्रतिवेदनबारे छलफल आह्वान

सहयात्रा टिभी

काठमाडौं । पुस १५, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार विधेयकको प्रतिवेदनबारे छलफल आह्वान गरेको छ ।

भ्रष्टाचार निवारण ऐन २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्न गठित संसदीय उपसमितिको प्रतिवेदनमाथि छलफल गर्न राज्य व्यवस्था समितिले बैठक बोलाएको हो । यही पुस १८ गते बिहीबारका लागि बैठक राखिएको समिति सचिवालयले जनाएको छ ।

यही पुस ३ गते संसदीय उपसमितिले अख्तियार ऐन संशोधन विधेयकको प्रतिवेदन मूल समितिलाई बुझाएको थियो ।

अख्तियार ऐन संशोधन विधेयकमाथि छलफल गरेर प्रतिवेदन बनाउने जिम्मेवारी नेपाली कांग्रेसका सांसद हृदयराम थानी नेतृत्वको उपसमितिलाई दिइएको थियो ।

थानीको नेतृत्वमा राज्य व्यवस्था समितिले गत कातिक २५ गते उपसमिति गठन गरेको थियो । झण्डै दुई महिना लगाएर संसदीय उपसमितिले अख्तियार विधेयक र भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकको प्रतिवेदन मूल समितिलाई बुझाएको हो ।

संसदीय उपसमितिले नीतिगत निर्णयको परिभाषा गर्दै मन्त्रिपरिषदका निर्णय समेत अख्तियारको क्षेत्राधिकारमा पर्ने गरी विधेयकको प्रतिवेदन तयार पारेको छ ।

 

प्रकाशित : 30 December, 2024

प्रतिक्रिया दिनुहोस्