जिम्बावे र अफगानिस्तानबीचको पहिलो टेस्टमा बराबरी

काठमाडौं । पुस १६, जिम्बावे र अफगानिस्तानबीचको पहिलो टेस्ट क्रिकेटमा कीर्तिमानको ओइरो लागेको छ । बुलावायोको क्वीन्स स्पोर्ट्स क्लबमा भएको खेल बराबरीमा सकिएको थियो ।
अफगानिस्तानको पहिलो पारीमा ६ सय ९९ र घरेलु टोली जिम्बावेले पहिलो पारीमा ५ सय ८६ र दोस्रो पारीमा ४ विकेट गुमाएर १ सय ४२ रन बनाउँदा खेल बराबरीमा सकिएको हो । बुलावायोमा अफगानिस्तानले बनाएको ६ सय ९९ रन टेस्ट क्रिकेटमा उसको सर्वाधिक योगफल हो ।
यस्तै अफगानिस्तान सबैभन्दा कम खेल खेलेर टेस्ट क्रिकेटको एउटै पारीमा ६ सय रन बनाउने टोली बनेको छ । सन् २०१८ मा पहिलो टेस्ट खेलेको अफगानिस्तानले १० औं खेलमा यो उपलब्धि हासिल गरेको हो ।
हशमतुल्लाह शाहिदीले बनाएको २ सय ४६ रन अफगानिस्तानका लागि सर्वाधिक व्यक्तिगत योगफल हो । हशमतुल्लाहको यो दोस्रो शतक हो ।
यस्तै दोहोरो शतक बनाएका अफगानिस्तानकै अर्का ब्याटर रहमत शाहले पनि कीर्तिमान बनाएका छन् । उनी टेस्ट क्रिकेटमा पहिलो दुई शतकलाई दोहोरो शतकमा परिणत गर्ने पाँचौं खेलाडी बनेका छन् ।