फास्ट ट्र्याक निर्माणमा वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति गर्ने

सहयात्रा टिभी

काठमाडौं । पुस १६, नेपाल विद्युत् प्राधिकरणले काठमाडौं–तराईरमधेस द्रुतमार्ग  (फास्ट ट्र्याक) अन्तर्गत मकवानपुर भीमफेदी गाउँपालिका–८ मान्डु माल्टाबेँसी र इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी कोगटे क्षेत्रमा पर्ने सडक निर्माणका लागि आवश्यक विद्युत् वैकल्पिक व्यवस्थाबाट आपूर्ति गर्ने भएको छ ।

विद्युत् अभावमा फास्ट ट्र्याक निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी जतिसक्दो छिटो विद्युत् आपूर्तिका लागि काम अगाडि बढाइसकेको जनाएको छ । उक्त क्षेत्रका बासिन्दाको विद्युत् आपूर्तिमा भने कुनै समस्या छैन ।

फास्ट ट्र्याकको मान्डु माल्टाबेँसी र सिस्नेरी कोगटे क्षेत्रमा पुल, ग्यालरी सुरुङ, सुरुङ लगायत संरचना निर्माणका लागि आवश्यक विद्युत् अभावमा निर्माण प्रभावित हुन नदिन प्राधिकरणले वैकल्पिक व्यवस्था गरी आपूर्ति दिन लागेको जनाएको छ ।

फास्ट ट्र्याकलाई उक्त क्षेत्रमा करिब १२ मेगावाट विद्युत् आवश्यक पर्ने छ । त्यस क्षेत्रमा चार प्याकेजमा निर्माण भइरहेको छ ।

विद्युत् आपूर्ति वैकल्पिक व्यवस्था अन्तर्गत कुलेखानी पहिलो जलविद्युत् केन्द्र ढोर्सिङबाट मान्डुसम्मको पहिले चालु ६६ केभी लाइन ११ केभीमा सञ्चालनमा ल्याइने छ ।

काठमाडौंमा जगेडा रहेको २२.५ एमभीएको पावर ट्रान्सफर्मर ढोर्सिङ सबस्टेसन लगेर त्यहाँ जडान गरी सोहीमार्फत फास्ट ट्र्याकका लागि आवश्यक विद्युत् आपूर्ति दिइने छ ।

माल्टा सबस्टेसनबाट ११ केभी लाइनमार्फत फास्ट ट्र्याकलाई आपूर्ति दिइएको थियो । माल्टा सबस्टेसनमा ललितपुरमै सञ्चालनमा रहेको अर्को २ मेगावाटको खानीखोला जलविद्युत् आयोजना पनि जोडिएको थियो ।

तर, बाढीपहिरोले खानीखोलामा पनि क्षति पुगेपछि माल्टा सबस्टेसन विद्युत् स्रोतविहीन बनेको थियो । जसका कारण फास्ट ट्र्याकको विद्युत् आपूर्ति बन्द भएको थियो । अहिले दुवै आयोजना पुनर्निर्माण चलिरहेको छ ।

आयोजना पुनर्निर्माण आगामी चैतभित्र सक्ने गरी काम भइरहेको छ । उक्त आयोजना सञ्चालन आएपछि पुरानै व्यवस्था अनुसार विद्युत् आपूर्ति दिइने छ ।

 

 

प्रकाशित : 31 December, 2024

प्रतिक्रिया दिनुहोस्