क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने विप्लव नेतृत्वको निर्णय

काठमाडौं । पुस १६, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तत्काल मित्र पार्टीहरूसँग मोर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय गरेको छ ।
गत २७ मंसिरदेखि २ पुससम्म कपिलवस्तुस्थित कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । मंगलबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत् बैठकका निर्णयबारे औपचारिक जानकारी गराइएको छ ।
त्यस्तै बैठकले एकीकृत जनक्रान्तिका १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ । त्यसका लागि पार्टीले सुव्यवस्थित बहस, अन्तरक्रिया गर्दै विशेष अधिवेशनको आयोजना गर्ने पनि निर्णय भएको छ ।