तारेभिरमा फसेका चार जनालाई सेना–प्रहरीद्धारा सकुशल उद्धार
काठमाडौं । पुस १७, मकवानपुरको भीमफेदी गाउँपालिका–८ लटारम्मेश्वर मन्दिर जाने क्रममा तारेभिरमा फसेका चार जनालाई प्रहरीद्धारा सकुशल उद्धार गरेको छ ।
काठमाडौं महानगरपालिका २ बस्ने ३६ वर्षीया मधुलिका सिंह ठकुरी, ३५ वर्षीया निर्जला शाक्य, ३४ वर्षीया सिर्जना महर्जन र २४ वर्षीय पुकार सिलवाललाई सेना र प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो ।
उनीहरु फसेको जानकारी प्रहरीले मंगलबार दिउँसो करिब सवा तीन बजे टेलिफोनमार्फत् पाएको थियो । लगत्तै इलाका प्रहरी कार्यालय ठिंगनबाट प्रहरी निरीक्षक खगेन्द्र कुमार दाहाल नेतृत्वको चार जनाको टोली उक्त स्थानमा खटिएको थियो ।
इलाका प्रहरी कार्यालय ठिंगनबाट करिब १५ किलोमिटर पश्चिम उत्तरतर्फ पर्ने उक्त स्थानमा प्रहरी टोली डोरी, हसिया, फलामको रड लगायतका उद्धार सामग्री सहित गएको थियो ।
तर प्रहरीले मात्र उद्धार गर्न नसकेपछि नेपाली सेनाको बेसक्याप्प महादेवटारका सुबेदार सिताराम कार्की नेतृत्वमा ७ जनाको थप टोली उद्धारमा परिचालित भएको थियो ।
सेना र प्रहरीको संयुक्त टोलीले चारै जनालाई मंगलबार साँझ ५ बजेतिर सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाएको इलाका प्रहरी प्रहरी कार्यालय ठिंगनले जनाएको छ ।
कान्ति लोकपथ हुँदै हेटौंडाबाट करिब एक घण्टा र काठमाडौंबाट करिब २ घण्टाको दुरीमा भीमफेदी गाउँपालिकाको इपा पुगेर इपाबाट करिब २ घण्टा पैदल उकालो हिँडेपछि महादेव मन्दिरमा पुगिन्छ ।
समुद्री सतहबाट एक हजार ८५६ मिटर उचाइमा रहेको यो मन्दिरबाट हिम शृंखलासहित मनोरम प्राकृतिक सौन्दर्यको अवलोकन गर्न पाइने भएकाले बिदाको छोटो समय बिताउन पनि मानिसहरु त्यहाँ पुग्ने गर्दछन् ।