पिंगलास्थानमा युवती मृत्यु प्रकरण: बाहिरबाटै ताला लगाएर युवक फरार

काठमाडौं । पुस १८, काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा मृत फेला परेकी युवती एकजना युवकसँग बस्न पुगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ
अनुसन्धानमा सहभागी एक प्रहरीका अुनसार कागेश्वर मनोहरा ठेगाना भएकी २१ वर्षीय सुस्मिता खड्काको शव फेला परेको हो ।
नयाँ वर्षको अघिल्लो दिन उनीहरू सो होटलमा बस्न गएका थिए । भोलिपल्ट ती युवक होटलकै ताला बाहिरबाट लगाएर ‘केहीबेरमा आउँछु’ भन्दै निस्किएका थिए ।
तर, उनी नफर्केपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरे । प्रहरीका अनुसार स्थानीय जनप्रतिनिधिसहितको उपस्थितिमा बुधबार दिउँसो ढोका फुटाएर हेर्दा युवतीको शव बेडमा थियो ।
ती प्रहरीका अनुसार फरार युवक ‘लोकेट’ भइसकेका छन् । उक्त होटलको ३ सय ८ नम्बर कोठामा युवतीको शव फेला परेको हो ।
घटनाबारे जिल्ला प्रहरी परिसर, काठमाडौं, काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त गौशालाबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मृतकका आफन्तबाट जाहेरी दरखास्त लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ ।