निजामती कर्मचारीमा ट्रेड युनियन नै नराख्ने राप्रपाको प्रस्ताव
काठमाडौं । पुस १९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निजामती कर्मचारीमा ट्रेड युनियन नै नराख्ने प्रस्ताव गरेको छ ।
संघीय निजामती सेवा विधेयकमाथिको छलफलमा राप्रपाका सांसद बुद्धिमान तामाङले सरकारी राज्य कोषबाट तलब खानेको ट्रेड युनियन हुन नहुने बताएका हुन् ।
पार्टीको धारणा अनुसार आफूले संशोधन समेत राखेको उल्लेख गर्दै उनले पार्टीले बेतनधारीहरुको संगठन बनाउन छाडेको र भएको पनि विघटन गर्दै गएको बताए । ‘हामीले त शिक्षक संगठन बन्द नै गरिसक्यौं’ उनले भने ।
राज्य व्यवस्था समितिको बैठकमै लोकसेवा आयोगले भने निजामतीमा एउटा मात्रै आधिकारिक ट्रेड युनियन रहनु ठिक हुने राय व्यक्त गरेको छ ।
समितिको बैठकमा बोल्दै लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीले यस्तो प्रस्ताव राखेका हुन् ।
राप्रपा सांसद तामाङले लोकसेवा बाटै यस्तो प्रस्ताव आउनु उचित नरहेको भनेर पनि असन्तुष्टि जनाए ।