दैलेखमा पेट्रोलियम अन्वेषणका लागि ड्रिलिङ खन्ने काम सकियो
काठमाडौं । पुस १९, दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत (ड्रिलिङ) अर्थात् गहिरो खोतल्ने काम सकिएको छ ।
गएको वैशाख २८ गतेदेखि शुरू गरेको (ड्रिलिङ)अन्तर्गत चार हजार दुई मिटर गहिरो खन्ने काम सकिएको जानकारी प्राप्त भएको छ ।
विज्ञले प्रत्येक दुई/दुई मिटर गहिराइबाट निस्किएका ढुङ्गा र माटो परीक्षण गरिरहेका छन् । ढुङ्गा र माटो परीक्षणपछि त्यसबाट प्राप्त भएको विवरणलाई सङ्कलन गरी तीन वटा थप अध्ययन हुनेछ ।
प्राकृतिक ग्यास हुनका लागि तय गरिएका मापदण्ड पूरा हुने सङ्केत प्राप्त भइरहेको स्रोतले जनाएको छ । चिनियाँ टोलीले हरेक दुई मिटरबाट सङ्कलन गरेको नमूनाको विशिष्ट अध्ययन चीनमै गर्ने भएकाले अन्तिम नतिजा आउन केही समय लाग्ने विभागले जनाएको छ ।
ड्रिलिङका लागि दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । चीन सरकारको दुई अर्ब ५० करोड रुपियाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण भइरहेको हो ।