रास्वपा केन्द्रीय समितिको बैठक आजदेखि

सहयात्रा टिभी

काठमाडौं । पुस २०, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरु भएको छ । स्वयम्बु स्टार ब्याङकेटमा बिहान साढे ८ बजेदेखि बैठक सुरु भएको हो ।

शनिबार र आइतबार बस्ने रास्वपाको केन्द्रीय समितिको बैठकको पहिलो दिन सहकारीसम्बन्धी अध्यादेश २०८१ र संसद्मा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

आजको बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सवलीकरण र जागरणलगायत विषयमा छलफल हुने कार्यक्रम छ ।

आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय छ । बैठकको दोस्रो दिन संविधान परिमार्जन सम्बन्धमा छलफल गर्ने बताइएको छ ।

रास्वपाको केन्द्रीय समितिमा सभापति रवि लामिछानेसहित जम्मा ६१ जना सदस्य छन् । सभापति लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारीमा डोरप्रसाद अर्याल छन् ।

प्रकाशित : 4 January, 2025

प्रतिक्रिया दिनुहोस्