‘पूर्ण बहादुरको सारङ्गी’का फेम्ड निर्देशक पौडेलले ‘कोेशेढुंगा’ बनाउँदै
काठमाडौं । पुस २१, हिस्टोरिकल ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले चलचित्र ‘कोशेढुंगा’ निर्माणको घोषणा गरेका छन् ।
चलचित्रको थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्र निर्माण गर्ने घोषणा गरेको हो । थिम पोस्टरले पहाडी परिवेश देखाएको छ । बादल र कलिलो घामको समिश्रण रहेको पोस्टरमा ढुंगामाटोले बनेको घर, अग्लो रुख, पहाड र एक महिलालाई देख्न सकिन्छ ।
बादल र कलिलो घामको समिश्रणले कठिन पहाडी जीवन, अग्लो रुखले पहाडी जीवन बाँच्नेका अग्ला सपना र क्षितिजले भेट्न नसकिने सपनाको संकेत गरेको बुझ्न सकिन्छ । डाँडामा उभिएर पहाडलाई हेर्दै गरेकी महिलाले कठिन पहाडी जीवन छोडेर सपना पछ्याउन सहरलाई गन्तब्य बनाएर हिँडेको अर्थ लगाउन सकिन्छ ।
थिम पोस्टरले ‘कोशेढुंगा’ सोसल ड्रामा भएको प्रष्ट हुन्छ । अभाव, सपना र संघर्षको कथा चलचित्रले भन्ने संकेत गरेको छ । यसअघि पनि सरोजले ‘पूर्ण बहादुरको सारङ्गी’ सोसल ड्रामा जानरामै रहेर बनाएका थिए ।
जसले नेपालमा ऐतिहासिक ग्रसकलेक्सन गर्दा यो चलचित्रले हालसम्मको ग्रसकलेक्सनको रेकर्ड ब्रेक गरेको छ । उनको यो चलचित्र कस्तो बन्नेछ भन्ने धेरैको प्रतिक्षाको विषय हुनेछ । दिनेश खड्का कार्यकारी निर्माता रहने चलचित्रमा प्रेविल कँडेल र हरि महतको लगानी हुनेछ । चलचित्र ‘कोशेढुंगा’ २०८२ मा रिलिज हुनेछ ।