रवि लामिछानेको तर्फबाट आजदेखि थुनछेक वहस
पोखरा । पुस २२, सूर्य दर्शन सहकारी ठगी प्रकरणमा आजदेखि कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानुन व्यवसायीहरुले थुनछेक वहस गर्दैछन् । जिल्ला न्यायाधिश नितिश राईको इजलाशमा आजदेखि लामिछानेको तर्फबाट कानुन व्यवसायीहरुले थुनछेक वहस गर्न लागेका हुन् ।
यसअघि सोही प्रकरणमा पूर्व डिआइजी छविराज जोशी र लिला पछाईको तर्फबाट थुनछेक वहस भैसकेको छ भने सोही प्रकरणमा पक्राउ परेका कृष्णबहादुर गुरुङ, उनकी छोरी एमाले नेत्री एवं गण्डकी प्रदेश सभाकी पूर्व सांसद मिना गुरुङ, अनिता गुरुङ र रामबहादुर खनालको थुनछेक वहस हुन् बाँकी रहेको छ ।
यसैबीच, रवि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा हुने थुनछेक वहसमा सहभागी कानून व्यनासायी यज्ञमणि न्यौपानेले सहकारी पीडितहरुले बचत रकम फिर्ता नपाउने परिस्थिति बन्दै गएको बारे इजलासमा कुरा उठ्न थालेको बताएका छन् ।
सहकारी पिडितहरुले वचत रकम फिर्ता पाउनु पर्ने मागसहित सर्वत्र आन्दोलन चलिरहेका बेला सहकारी पीडितहरुले आफ्नो वचत रकम नपाउने परिस्थति बन्दै गैरहेको बारे इजलासमा छलफल भएको अधिवक्ता न्यौपानेले बताएका हुन् । अहिले रवि लामिछाने लगायतलाई लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धि मुद्दाका कारण सहकारी पिडितहरुले रकम फिर्ता पाउने परिस्थिति नरहेको कतिपय कानून व्यवसायीहरुले बताउँदै आएका छन् ।
सूर्य दर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने हिरासतबाट छुट्ने कि नछुट्ने भन्ने बारेमा इजलासमा वहस चलिरहँदा उनका शुभचिन्तकहरु भने सर्वासाधारणले रकम उठाएर भएपनि लामिछानेलाई लाग्ने धरौटी बुझाउन तयार रहेको बताउन थालेका छन् । अर्कातिर रवि लामिछानेलाई जसरी पनि जेलमा कोच्ने गरी अदालतमा वहस गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री जिता बरालले ती कानून व्यवसायिहरुप्रति आक्रोश पोखेकी छिन् ।