शितलहरले तराईको विभिन्न जिल्लाका बिद्यालय बन्द
काठमाडौं । पुस २५, तराइ क्षेत्रमा शितलहर बढेपछि विद्यालय बन्द गरिन थालेका छन्। एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन्।
शीतलहरका कारण अत्यधिक चिसो बढेपछि शुक्लाफाँटा नगरपालिका, पुनर्वास नगरपालिका र कृष्णपुर नगरपालिकाले विद्यालयमा बिदा दिएका हुन् । चिसोले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै विद्यार्थीको स्वास्थ्य अवस्थामा प्रतिकूल असर पर्न थालेपछि विद्यालयमा बिदा दिइएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले बताएका छन्।
उनका अनुसार नगर क्षेत्रका सामुदायिक र संस्थागत विद्यालयमा यही पुस २५ गतेदेखि पुस २८ गतेसम्मका लागि बिदा दिइएको छ । कृष्णपुर नगरपालिकाले जाडो बिदाबाट मिलान हुने गरी विद्यालयमा पुस २३ गतेदेखि २८ गतेसम्म बिदा दिएको जनाएको छ।
यसैगरी रुपन्देहीको तिलोत्तमा र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विद्यालयमा जाडो बिदा दिएका छन् । तिलोत्तमा नगरपालिकाले पुस २४ देखि २९ गतेसम्म नगरभित्रका सामुदायिक र निजी विद्यालय बन्द गर्न सूचना जारी गरेको छ। शीतलहरका कारण चिसो बढेकाले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले बिदा दिइएको बताइएको छ।