सार्वजनिक लेखासमिति सभापति पोखरेलका स्वकीय सचिव अनिल पक्राउ

सहयात्रा टिभी

काठमाडौं । पुस २५, संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् ।

बिहीबार बिहान प्रहरीले जिल्ला प्रहरी कार्यालय नजिकैबाट पक्राउ गरेको हो । मोरङको रंगेली नगरपालिका २ घर भई काठमाडौं बस्दै आएका ४३ वर्षीय अनिल नेकपा एमाले मोरङ जिल्ला सदस्य हुन् ।

प्रहरी नियन्त्रणमा रहेका पोखरेलमाथि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनले एमबीबीएस पढ्न छोरीको नाम निकालिदिने भन्दै सप्तरीको अग्निसाइबर कृष्णासवरन गाउँपालिका– ५ बकधुवा बस्ने ५७ वर्षीय बौआलाल चौधरीसँग विभिन्न मितिमा ३८ लाख ८० हजार रुपैयाँ लिएको आरोप छ ।

उनीमाथिको घटनामा अनुसन्धान गर्न उच्च अदालत विराटनगरले प्रहरीलाई आदेश पनि दिएको थियो ।
ठगी प्रकरणमा मुछिएपछि सभापति पोखरेलले आफ्ना स्वकीय सचिव अनिललाई जिम्मेवारीबाट हटाएका थिए ।

ऋषिकेश पत्नी अन्जला कोइरालामाथि सहकारी ठगीको आरोप छ । गत २७ मंसिरमा मुद्दा दर्ता भएपछि फरार रहेकी उनी बुधबार अदालतमा हाजिर भएकी थिइन् ।

बुधबार नै उनी अदालतको आदेशपछि १० लाख धरौटी बुझाएर छुटेकी थिइन् । बिहीबार बिहान भने उनका स्वकीय सचिव पक्राउ परेका हुन् ।

 

 

प्रकाशित : 9 January, 2025

प्रतिक्रिया दिनुहोस्