रित्तिंदै नाम्खाका गाउँ वडासदस्य पनि राजीनामा दिएर हिंडिन्

सहयात्रा टिभी

काठमाडौं । पुस २५, हिमालपारीको गाउँ भनेर चिनिंदै आएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिका- ६ मा पर्छन्, तिल, जाङ र हल्जी गाउँ । एउटै वडाभित्रका भए पनि एक गाउँबाट अर्को गाउँ पुग्न झन्डै चार घण्टा पैदल हिंड्नुपर्छ ।

तिब्बतसँग सीमा जोडिएको लिमीमा पर्ने यी गाउँमा केही वर्षअघिसम्म चहल पहल राम्रै थियो । तर, पछिल्ला वर्ष बसाइँ सर्ने क्रम नरोकिएकाले गाउँ रित्तिंदै गएका छन् ।

यी गाउँ तत्कालीन लिमी गाउँ विकास समितिमा पर्थे । भौगोलिक विकटता सहेरै पनि स्थानीय बसिरहेका थिए । २० वर्षअघि ६४ घरधुरी रहेको जाङमा अहिले जम्मा दुई घरधुरी मात्र बस्छन् ।

गत वर्ष १७ घरधुरी थिए । एकै वर्षमा १५ घरधुरी गाउँ छाडेर बसाइँ सरेपछि रित्तिएको जाङ उराठलाग्दो छ । प्रायः सबै घरका मूलढोकामा ताला झुन्डिएको देखिन्छ ।

लिमी गाउँदेखि चीनको सिमाना लिमी लाप्चा ४२ किलोमिटरको दूरीमा छ । नेपाल सरकारले बीओपी स्थापना गरेको छ, न अन्य सुरक्षा क्याम्प । सीमा सुरक्षाको दृष्टिले नेपाल सरकारले बेवास्ता गरे पनि पारि लाप्चातर्फ भने बलियो चिनियाँ सुरक्षा छ ।

केही वर्षअघिसम्म हल्जी, जाङ र तील गाउँका बासिन्दा नै सीमा रक्षकजस्तै थिए । उनीहरूले नै सीमाको रेखदेख गर्थे । राज्यको बेवास्ता सहेरै पनि लामो समयसम्म स्थानीय बसिरहेका थिए । आसपासका क्षेत्र गुलजार थिए । तर, बसाइँसराइले गाउँ नै रित्तिंदै गएपछि भने सीमा नाका पनि सुनसान भएको छ ।

केही नागरिक रोजगारी तथा व्यापार व्यवसायका लागि चीनको ताक्लाकोट, पुगेका छन् । केही बसाइँ सरेर काठमाडौं । जाङ गाउँबाट निर्वाचित वडासदस्य पुटी लामासमेत राजीनामा दिएर गाउँ छोडेकी छन् ।

बासिन्दा नै नभएपछि लिमीको सुनखानीमा अस्थायी प्रहरीचौकी मात्रै छ, त्यो पनि हिँउद लागेपछि सदरमुकाम सिमकोट सार्ने गरिएको छ । अस्थायी प्रहरीहरू वर्षाको समयमा मात्रै सुनखानी सर्ने गरेका छन् ।

लिमीका तीन गाउँका नागरिकले सीमाको मात्रै रक्षा गरेका थिएनन्, विश्वकै दुर्लभ र लोपोन्मुख चराचुरुङ्गी, लिमी उपत्यकाको माथिल्लो क्षेत्रमा पाइने ७० प्रजातीका चराचुरुङ्गीदेखि विश्वकै दुर्लभ मानिएको वनचौरी, रातो भालु, चितुवा, वन कुकुरको संरक्षण पनि गर्ने गरेका थिए ।

जाङ गाउँका ८० प्रतिशत नागरिक काठमाडौंमा छन् । बाँकी चीनको ताक्लाकोटमा व्यापार व्यवसाय गर्दै आएका छन् । जाङ गाउँका सुन्डुप लामा र कासाङ लामा भने यसवर्ष चिसो छल्न काठमाडौं गइसकेको नाम्खा गाउँपालिका ६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।

 

प्रकाशित : 9 January, 2025

प्रतिक्रिया दिनुहोस्