रवि लामिछानेको थुनछेक बहस अब सुरु हुने
काठमाडौं । पुस २८, स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दाका अभियुक्त रास्वपा सभापत रवि लामिछानेको बयान सकिएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भर्खरै लामिछानेको बयान भएको हो । अब थुनछेक बहस सुरु हुने अदालत स्रोतले जनाएको छ ।
थुनछेक बहसको क्रममा सरकारी वकिलको कार्यालयको तर्फबाट पहिले बहस हुनेछ । त्यसपछि रवि लामिछाने पक्षका वकिल र जाहेरवाला पक्षका वकिलले बहस गर्नेछन् । त्यसपछि सरकारी पक्षबाट जवाफी बहस हुनेछ ।
आज थुनछेक बहस नटुंगिए न्यायाधीशले थुनामा पठाउने वा भोलि पुनः अदालतमा हाजिर हुने गरी छाड्ने भन्ने आदेश गर्नेछन् ।
कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएपछि लामिछाने स्वर्णलक्ष्मी सहकारी ठगीसम्बन्धी मुद्दामा बयानका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
गत बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिजकुमार राईको इजलासले लामिछानेसहित सातजनालाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
स्वर्णलक्ष्मीबाट गोर्खा मिडिया नेटवर्कमा कानुनविपरीत पाँच करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ गएको प्रहरी अनुसन्धानले देखाएको छ । सरकारी वकिल कार्यालयले रविलाई सो रकम बिगो माग दाबी गरेर मुद्दा दायर गरेको हो ।
लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मीसहित, बुटवलको सुप्रिम, चितवनको सहारा र पर्साको सानो पाइलामा पनि मुद्दा दर्ताको प्रक्रिया अघि बढेको छ ।