सिद्धबाबामा निर्माण भइरहेको सुरुङमार्ग छिचोल्ने तयारी

सहयात्रा टिभी

काठमाडौं । माघ १, सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको सिद्धबाबामा निर्माण भइरहेको सुरुङमार्ग यही माघको ११ गते छिचोल्ने तयारी भएको छ ।

यसअघि माघ ८ गते सुरुङ छिचोल्ने गरी तयारी भएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण ११ गतेलाई सरेको हो ।

प्रधानमन्त्री ओलीले पूजा गरेपछि आयोजनाको मूख्य सुरुङ छिचोलिनेछ । सिद्धबाबाको मुख्य सुरुङ छिचोल्ने काम लगभग सकिएको छ, अब दुई मिटर मात्रै बाँकी छ ।

अलि छिटै नै सुरुङ छिचोल्ने तयारी भए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण ११ गते पुर्‍याइएको आयोजनाका प्रमुख कृष्णराज अधिकारीले उज्यालोलाई जानकारी दिनुभएको छ ।

यो आयोजनाअन्तर्गत दुई लेनको मुख्य सुरुङमार्गको लम्बाई ११ सय २६ मिटर र चौडाई साढे १० मिटर रहेको छ ।

उद्धार सुरुङका रूपमा चिनिएका तीन वटै बाइपास सुरुङ यसअघि नै छिचोलिएका छन् । मुख्य सुरुङ छिचोल्ने काम सकिए पनि अरू थुप्रै काम बाँकी रहने हुनाले यो ठेक्काको म्याद २०८३ सालको चैत ८ गतेसम्म रहेको छ ।

अहिलेसम्म सुरुङमार्गको भौतिक प्रगति ३९ प्रतिशत रहेको छ । अबको दुई वर्षपछि गाडी सञ्चालन गर्नेगरी काम भइरहेको पनि अधिकारीले बताउनुभएको छ ।

सिद्धबाबा क्षेत्रमा बर्खा र हिउँद दुवै सिजनमा पहिरो खसेर सडक अवरुद्ध हुने तथा दुर्घटना बढिरहने भएपछि यो समस्या समाधानको लागि सरकारले सुरुङमार्ग निर्माण गरिरहेको छ ।

 

प्रकाशित : 14 January, 2025

प्रतिक्रिया दिनुहोस्