रक्तचन्दन तस्करी गरेको आरोपमा दुई जना पक्राउ

सहयात्रा टिभी

काठमाडौं । माघ २, प्रहरीले रक्तचन्दन तस्करी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

गएराति काठमाण्डौ र भक्तपुरको सीमा क्षेत्र काँडाघारीबाट चार सय ६२ किलो रक्तचन्दनसहित काठमाण्डौका रमेश थापा र सिन्धुपाल्चोकको बलेफीका ज्ञानबहादुर तिमिल्सिनालाई पक्राउ गरेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरूले केही महिना अगाडि नै रक्तचन्दन ल्याएर तिमल्सिनाको कोठामा राखेको र अर्को व्यक्तिलाई बुझाउने तयारी गर्दै गर्दा सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ । रक्तचन्दन कहाँबाट ल्याइएको हो र गन्तव्य कहाँ हो भन्ने खुलिनसकेको प्रहरीले जनाएको छ ।

नेपालमा लामो समयदेखि रक्तचन्दनको तस्करी रोकिएकोमा फेरि शुरू भएको देखिएको हो । रक्तचन्दन विशेषगरी भारतबाट चीनतर्फ तस्करी हुने गरेकोले नेपाल ट्रान्जिट बनेको देखिन्छ ।

यसअघि २०६० को दशकमा रक्तचन्दन भारतबाट नेपालको बाटो हुँदै सङ्गठित रूपमा चीन तस्करी हुने गरेको थियो । त्यस बेला राजनीतिक दलका केही नेताकै संरक्षण रहेको पाइएको थियो ।

पछि सरकारले नै विशेष अभियान चलाएपछि तस्करी रोकिएको थियो । त्यस बेला बरामद गरेको ठूलो परिमाणको रक्तचन्दान अझै पनि गोदाममै छ ।

 

प्रकाशित : 15 January, 2025

प्रतिक्रिया दिनुहोस्