भारतीयसँग मिलेर श्रीमतीले श्रीमानको हत्या

सहयात्रा टिभी

काठमाडौं । माघ २, दुई महिना अघि घरभित्रै मृत भेटिएका कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटका ४९ वर्षीय सियाराम रानाको उनकै श्रीमतीले हत्या गराएको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रीमती जनककुमारीले बीमा रकम हत्याउन भारतीय नागरिकलाई प्रयोग गरी श्रीमानको हत्या गराएकी हुन् ।

अनुसन्धानको क्रममा प्रहरीले मृतक सियाराम रानाकी श्रीमती जनककुमारी र भारतीय नागरिक ३० वर्षीय फारुखलाई नियन्त्रणमा लिएको छ ।

राना आफ्नै घरभित्र १३ मंसिरमा मृत भेटिएका थिए । त्यसको भोलिपल्ट प्रहरीले उनकी श्रीमती जनककुमारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानको क्रममा भारतीय नागरिकको समेत संलग्नता खुलेपछि प्रहरीले भारत उत्तर प्रदेशको लखिखमपुर खिरी जिल्लाको सम्पूर्णानगर बस्ने अन्दाजी ३० वर्षीय फारुखलाई पनि नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेशराज जोशीले सियारामको हत्या उनकी श्रीमती जनककुमारी र भारतीय नागरिक फारुख मिलेर गरेको अनुसन्धानबाट खुलेको बताए ।

जनककुमारीका श्रीमान् सियाराम रानाले नेपाल लाइफ इन्स्योरेन्समा २८ लाखको जीवन बीमा गरेका थिए । उक्त रकम हत्याउने उद्देश्यले नै उनको हत्या गरेको पाइएको डीएसपी जोशी बताउँछन् ।

सियारामकी श्रीमतीलाई जिल्ला अदालतले ८ पुसमा पुर्पक्षका लागि कारागार चलान गरेको छ भने हालै पक्राउ परेका भारतीय नागरिकविरुद्ध कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित : 16 January, 2025

प्रतिक्रिया दिनुहोस्