व्यवसायीका मागलाई सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम

सहयात्रा टिभी

काठमाडौं । माघ ४, नेपाल निर्माण व्यवसायी महासंघले व्यवसायीका माग र समस्यालाई सम्बोधन गर्न माग गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललाई ज्ञापनपत्र बुझाएको छ ।

निर्माण कार्य हुने सिजनमा नै सिमेन्ट र डण्डी उद्योगले मूल्यवृद्धि गरेको तथा भुक्तानी अभाव र सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको म्याद थपसम्बन्धी कानूनी जटिलता हटाउन माग गर्दै मन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो ।

उहाँले निर्माण व्यवसायीहरूका माग सम्बोधन गर्न सरकारलाई १५ दिने अल्टिमेटम दिएको समेत बताउनुभयो ।

व्यवसायीका माग सम्बोधन नभए महासंघले यही माघ १८ गते काठमाण्डौको माइतीघर मण्डलामा धर्ना दिने चेतावनी दिएको छ । अध्यक्ष सिंहले त्यसपछि पनि माग सम्बोधन नभए माघ २१ गतेदेखि काठमाण्डौ उपत्यका प्रवेश गर्ने नाका ठप्प पार्ने चेतावनीसमेत दिनुभएको छ ।

ज्ञापनपत्र बुझ्दै यातायातमन्त्री दाहालले सडकमा समस्या नआउने वातावरण तयार पार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सरकारले बेलैमा व्यवसायीका माग सम्बोधन नगरे राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलन अगाडि बढाउने महासंघले जनाएको छ ।

 

प्रकाशित : 17 January, 2025

प्रतिक्रिया दिनुहोस्