जनकपुरमा मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु
काठमाडौं । माघ ६, धनुषाको जनकपुर उपमहानगरपालिका-२३ मा तीन जना सवार भारतीय मोटरसाइकलको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ । अन्य चारजना घाइते भएका छन् ।
जनकपुर-जलेश्वर सडकखण्डमा शनिबार साँझ ५ बजे जलेश्वरबाट जिरोमाईलतर्फ आउँदै गरेको बी.आर.६ डि.जे.२६३२ नम्बरको भारतीय नम्बरको मोटरसाइकलले ज १२ प ६०३८ नम्बरको स्कुटरलाई पछाडिबाट ठक्कर दिएको हो ।
ठक्करबाट स्कुटरमा सवार महोत्तरीको पिपरा गाउँपालिका–५ निवासी ६० वर्षीया राजमरी देवीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
ठक्करबाट गम्भीर घाइते उनको विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक ६५ वर्षीय कामेश्वर प्रसाद यादव घाइते भएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ ।
मोटरसाइकल चालक सहित त्यसमा सवार तीनजना भने सामान्य घाइते भएका छन् । भारतको जिल्ला सितामढी ददरी बस्ने २९ वर्षीय संजित साह, चालकको श्रीमती २४ वर्षीया रूबी साह र मोटरसाइकलमै सवार जनकपुर उपमहानगरपालिका ४ बस्ने कृपाल साहका छोरा १६ वर्षीय सुशान्त साह सामान्य घाइते भएका हुन् ।
उनीहरुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।