हमासद्धारा पहिलो चरणमा मुक्त गर्ने तीन महिला बन्धकको नाम सार्वजनिक
काठमाडौं । माघ ६, प्यालेस्टिनी विद्रोही समूह हमासले पहिलो चरणमा मुक्त गर्ने तीन जना महिला बन्धकको नाम सार्वजनिक गरेको छ ।
हमासले तीन जना इजरायली महिलाको नाम सार्वजनिक गर्दै पहिलो उनीहरूलाई रिहा गर्ने बताएको बीबीसीले जनाएको छ । हमासले ३१ वर्षीया भेटेरिनरी नर्स डोरोन स्टेनब्रेचर, २४ वर्षीया रोमी गोनेन र २८ वर्षीया एमिली डमारीको नाम सार्वजनिक गरेको हो ।
यसअघि इजरायलले हमासले बन्धकहरूको नाम सार्वजनिक नगरेको भन्दै युद्धविराम पालनामा ढिलाइ भएको थियो । सम्झौताअनुसार गाजामा युद्धविराम स्थानीय समयअनुसार बिहान साढे ८ बजे शुरू हुनुपर्ने थियो ।
यसैबीच युद्धविराम शुरू भएको एक घण्टामा इजरायली आक्रमणमा १० जनाको ज्यान गएको छ । हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्स एजेन्सीका अनुसार इजरायली आक्रमणमा गाजा सिटीमा ६, उत्तरी गाजामा ३ र रफाहमा १ जना मारिएका छन् ।
यस्तै आक्रमणमा २५ जना घाइते भएका छन् । यसअघि इजरायलको सेनाले युद्धविराम शुरू नभएसम्म गाजामा आफ्नो सैन्य कारबाही जारी राख्ने बताएको थियो ।
युद्धविरामको पहिलो चरणमा ६ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ ।
युद्धविरामको गाजावासी र बन्धक बनाइएका परिवारले स्वागत गरेका छन् भने यसलाई स्थायी शान्तिको प्रयासका रूपमा हेरिएको छ ।
मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ इजरायली बन्धकको बदलामा एक हजार आठ सय ९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ ।