मेची भन्सारबाट चिया निर्यातमा बृद्धि
काठमाडौं । माघ ८, मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को छ महिनामा चिया निर्यात ५५.७० प्रतिशतले बढेको छ ।
कार्यालयको तथ्याङ्कानुसार (साउन–पुस)सम्ममा दुई अर्ब ९५ करोड ९० लाख ३७ हजार बराबरको चिया निर्यात भएको छ ।
सोही अवधिमा ११ हजार २३२.२७ मेट्रिक टन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलले जानकारी दिए । गत आव २०८०/८१ को सोही अवधिमा एक अर्ब ९० करोड पाँच लाख छ हजार बराबरको चिया निर्यात भएको थियो ।
भारतमा चिया उत्पादनमा कमी आएसँगै नेपाली चियाको निर्यात सुखद् पक्ष रहेको चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले बताए । चिया निर्यातमा नेपाल सरकारले सहजीकरण गरिदिने हो भने भारतमा माग बढेकाले चियाको निर्यात अझै बढ्ने अध्यक्ष पराजुलीको दाबी छ ।
कार्यालयको तथ्याङ्कानुसार चालु आव २०८१/८२ को पुस मसान्तसम्म अलैंचीको निर्यात १६.७ प्रतिशतले बढेको छ । चालु आवको छ महिनामा चार अर्ब ५५ करोड ७० लाख ६९ हजार बराबरको अलैँची निर्यात भएको छ । गत आव २०८०/८१ को सोही अवधिमा तीन अर्ब ९० करोड ५८ लाख ६ हजार बराबरको अलैँची निर्यात भएको थियो ।