बुढानीलकण्ठबाट चितुवाको उद्धार

सहयात्रा टिभी

काठमाडौं । माघ १०, काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ भंगाल चोकबाट एक चितुवाको उद्धार गरिएको छ । वन कार्यालयको टोलीले डार्ट गरेर विहीबार बिहान चितुवाको उद्धार गरेको हो ।

बिहान करिब साढे ८ बजेतिर चितुवा देखिएको सूचना पाएपछि डिभिजन वन कार्यालय काठमाडौंबाट शंकर थापा नेतृत्वको टोली परिचालित भएको थियो । सो टोलीले एकपटक डार्ट गरेर बिहान ११ बजेतिर चितुवा नियन्त्रणमा लिएको वन डिभिजन कार्यालय काठमाडौं प्रमुख पुष्पराज बर्तौलाले जानकारी दिए । ‘चितुवालाई सुरक्षित रूपमा उद्धार गरेर थप उपचार र अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाइएको छ,’ उनले भने ।

उद्धार टोलीमा संलग्न सवडिभिजन वन कार्यालय गोकर्णका प्रमुख अशोक पराजुलीले शारीरिक रुपमा स्वस्थ रहेको सो चितुवा शिकारको खोजीमा शहरी क्षेत्रमा प्रवेश गरेको हुनसक्ने अनुमान गरे । ‘यो चितुवा आसपासको जंगलबाट आएको हुनसक्छ । यस क्षेत्रमा चितुवा प्रायः देखिने गरेको छ,’ उनले भने । उद्धारका क्रममा चितुवालाई नियन्त्रणमा लिन स्थानीयहरू ठूलो संख्यामा उपस्थित भएका थिए । जसका कारण उद्धार कार्य केही चुनौतीपूर्ण भएको थियो ।

उद्धार टोलीमा पशुचिकित्सक डा. अशुतोष भट्ट, वन अधिकृत अशोक पराजुली, रेञ्जर सतीश दाहाल, जमदारद्व रामचन्द्र सापकोटा र किशोर कुमार थापा, वन रक्षक सुरज पण्डित र सवारी चालक रेशम पौडेल खटिएका थिए । नजिकको प्रहरी टोली पनि सो क्षेत्रमा खटाइएको थियो । चितुवाको आवतजावत बढ्दै गएपछि वन विभागले थप निगरानी राख्दै आएको छ । चितुवा नियन्त्रणमा लिन विभिन्न स्थानमा ट्र्यापमा पनि राख्ने गरिएको छ ।

प्रकाशित : 23 January, 2025

प्रतिक्रिया दिनुहोस्