महाभारत जंगलको डढेलो नियन्त्रण बाहिर

सहयात्रा टिभी

काठमाडौं । माघ ११, काभ्रेको महाभारत सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणबाहिर गएको छ । मंगलबार दिउँसो २ बजेदेखि खानीखोला गाउँपालिका-१ को थामलेख डाँडास्थित महाभारत सामुदायिक वनमा लागेको डढेलो अझै नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार सामुदायिक वनमा लागेको डढेलो बारे खबर प्राप्त भए लगत्तै प्रहरी चौकी फलामेटारबाट खटिएको टोली, सुरक्षा निकाय, वन डिभिजन कार्यालयका कर्मचारी, स्थानीय जनप्रतिनिधिलगायतले डढेलो निभाउन प्रयास गरिरहेका छन् ।

भीर भएको वन क्षेत्रमा आगलागी भएका कारण तत्काल आगो निभाउन सकिएको छैन । आगलागी भएको वन क्षेत्रमा सेना र प्रहरीको टोली परिचालित भए पनि तत्काल आगो निभाउन सम्भव नभएको उनले बताइन् ।

उक्त आगो गाउँ बस्तीबाट अन्दाजी ४ किलोमिटर उत्तर टाढा पर्ने, हालसम्म मानवीय तथा चौपायाको क्षति नभएको जानकारी प्राप्त भएको उनले जानकारी दिइन् । उनका अनुसार वनमा लागेको आगो मानवबस्तीसम्म आउन नदिनका लागि सुरक्षाकर्मीले अनुगमन गरिरहेको र जोखिम देखिए तत्काल स्थानीयलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिइएको छ ।

खानीखोला गाउँपालिकाको थामलेख डाँडाबाट सुरु भएको आगलागी अहिले बेथानचोक गाउँपालिका ५, ३, १ र २ को सिमा क्षेत्रमा समेत आइपुगेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । घना जंगलमा डढेलो लागेकाले यसको नियन्त्रण गर्न कठिनाइ भएको उनले बताए ।

काभ्रेको पर्यटकीय स्थल बेथानचोक गाउँपालिका ३ स्थित नारायणस्थानमा यात्रा नगर्न बेथानचोक गाउँपालिकाले आग्रह गरेको छ । आगो हाल बेथानचोक १, २, ३ र ५ को सीमा क्षेत्रसम्म पनि फैलिएकाले आगजनीको जोखिमलाई मध्यनजर गर्दै गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै धार्मिक एवं पर्यटकीय स्थल नारायणस्थानमा यात्रा नगर्न आग्रह गरेको हो ।

प्रकाशित : 24 January, 2025

प्रतिक्रिया दिनुहोस्