धुलिखेलको फर्निचर उद्योगमा आगलागी हुँदा एक वृद्धाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । माघ १२, काभ्रेको धुलिखेल नगरपालिका वडा नं. ९ स्थित श्यामसुन्दर फर्निचर तथा काष्ठ उद्योगमा विद्युत आगलागी हुँदा एक वृद्धाको मृत्यु भएको छ ।


सोही उद्योगमा बस्दै आएकी काठमाडौंको शंखरापुर नगरपालिका वडा नं १ नाङलेभारेकी ७० वर्षीया टिकादेवी दंगाललको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार उद्योगमा काम गर्ने उनका श्रीमान् ७३ वर्षीय तोयानाथ घाइते छन् ।

फर्निचर उद्योगबाट शुरु भएको आगो फैलिँदा नजिकै रहेको कृष्णबहादुर विश्वकर्माको एक तले कच्ची घर र जस्ताले बनेको ध्रुवबहादुर विश्वकर्माको टहरामासमेत क्षति भएको छ ।

आगलागीबाट फर्निचर उद्योगमा अन्दाजी ८० लाख, कृष्ण विश्वकर्माको अन्दाजी ८ लाख बराबरको घर, खाद्यान, लत्ताकपडा र ध्रुव विश्वकर्माको अन्दाजी तीन लाख बराबरको टहरा क्षति भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति ९ बजे सुरु भएको आगो नियन्त्रणको लागि ५ वटा दमकल, एसपी खड्काको नेतृत्वमा ४० जनाको प्रहरी टोली, कालिजंग गण धुलिखेलबाट पर्शुराम शाक्यको कमान्डसहितको टोली सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा शनिबार बिहान पौने २ बजे नियन्त्रणमा लिइएको थियो ।

घाइतेको उपचार र मृतको पोष्टमार्टम धुलिखेल अस्पतालमा भइरहेको छ ।

प्रकाशित : 25 January, 2025

प्रतिक्रिया दिनुहोस्