देशलाई सुशासन दिन माओवादीले बहुमत ल्याउनुपर्छ : प्रचण्ड

काठमाडौं । माघ १२, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई सुशासन दिन माओवादीले बहुमत ल्याउनु पर्ने बताएका छन् ।
दाङमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले ३२ सिटलाई आफूले प्रतिकात्मक रुपमा म्याजिक नम्बर भन्ने गरेको बताउँदै संख्यात्मक रुपमा त्यसले काम नगर्ने भएकोले अब बहुमत सिट आवश्यक रहेको बताए । ‘प्रतिकात्मक भनाइ थियो । हामीसँग ३२ सिट थियो । मैले नबुझेको त होइन । अब हामीलाई पर्याप्त नम्बर चाहियो’, उनले भने, ‘सुशासन दिने हो, स्थिरता र विकास दिने हो भने बहुमत चाहियो । मैले नेपाली जनतालाई यही भन्दै हिँडेको छु ।’
उनले आफू देश दौडाहाको क्रममा जनता माओवादीतिर फर्केको पाएको बताए । माओवादी ०६४ कै अवस्थामा फर्किन लागेको उनको दाबी छ । ‘मोरङ जाँदा ६४ को झल्को देखें मैले, झापामा जाँदा पनि ६४ नै देखें मैले,’ उनले भने,‘जनताले माओवादी र प्रचण्ड नै इमानदार रैछ भन्ने महसुस गरेको देख्छु ।’
उनले संसदीय व्यवस्थामा पहिलो र दोस्रो दलले गठबन्धन गर्नु नै अप्राकृतिक भएको बताउँदै त्यस्तो होला भन्ने पनि आफूलाई नलागेको बताए ।
सोही पत्रकार सम्मेलनमा उनले अब माओवादी एक्लै चुनाव लड्ने बताए । अहिलेको लहरले पनि एक्लै लड्न उत्साहित बनाएको उनले बताए ।