रवि लामिछानेको आज पनि थुनछेक बहस
काठमाडौं । माघ १३, पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको थुनछेक बहस रूपन्देही जिल्ला अदालतमा आज पनि चल्ने भएको छ । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए ।
रुपन्देही अदालतमा आज तेस्रो दिनको बहस हुन लागेको हो । ५ नं इजलासमा न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधवार अदालतमा हाजिर भएपछि अदालतले बयान सकेर उनलाई परिवार र प्रतिवादीका वकिलको जिम्माजमानीमा छाडेको थियो ।
बिहीबार र शुक्रवार सरकारी वकिल र तीन जना रवि पक्षका वकिलले बहस गरेका छन् । अब रवि पक्षबाट बहसका लागि नाम टिपाएका ५ जना वकिलले बहस गरेपछि सरकारी वकिलले जवाफी बहस सकेर मात्रै न्यायाधीशले थुनछेकको फैसला गर्नेछन् ।
बुधवारदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर लामिछानेलाई श्रीमती र उनकै पक्षका कानुन व्यवसायीको जिम्मामा छोड्ने आदेश भएकाले उनी हिरासत बाहिरै बसेका छन् । लामिछानेलाई श्रीमती निकिता पौडेल र उनका कानुन व्यवसायी नारायणदत्त कँडेलको जिम्मा लगाएको भन्दै सरकारी वकिलले वहसमा प्रश्न उठाएका छन् ।
यसअघि स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगीसम्बन्धी अभियोगमा भने काठमाडौं जिल्ला अदालतले लामिछानेलाई न्यायिक हिरासतमै राखेर बयान र थुनछेक बहस गराएको थियो। पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीको मुद्दामा कास्की जिल्ला अदालतमा थुनछेक बहस चल्दा पनि उनलाई हिरासतमै राखिएको थियो।
ती दुवै अदालतमा उनले हिरासतबाहिरै बसेर थुनछेक बहसमा सहभागी हुन पाउनुपर्ने अपिल गरेका थिए । रूपन्देही अदालतले भने उनको मागअनुसारै अदालतमा उपस्थित हुने सर्तमा हिरासतबाहिरै बस्ने सुविधा दिएको हो ।
सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो ।