सत्तारूढ दलहरूको बैठक बस्दै
सहयात्रा टिभी
काठमाडौं । माघ १४, सत्तासाझेदार दलका नेताहरूको बैठक आज बस्दै छ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैठक आह्वान गरेका हुन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ उक्त बैठक बस्नेछ । बैठकमा समसामयिक राजनीति, सरकारका गतिविधि, संसद् अधिवेशनलगायत विषयमा छलफल गरिने बताइएको छ । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ।
सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन्। तर, अन्य दल भने अध्यादेश ल्याएकोमा खुशी छैनन्।
यही कुरा बुझेका ओलीले साना दललाई पनि विश्वासमा लिन बैठक राखेका स्रोतको दाबी छ।
अहिले सत्तापक्षमा नेकपा एमाले, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी रहेका छन् ।