थारू समुदायको बडघर प्रथालाई कानूनी मान्यता दिन पहल शुरु

सहयात्रा टिभी

काठमाडौं । माघ १४, सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा बसोबास गरिरहेका थारू (डगौरा) समुदायको बडघर प्रथालाई कानूनी मान्यता दिन पहल शुरु गरेको छ ।

त्यही प्रयासस्वरूप यससम्बन्धी विधेयक निर्माणका लागि सामाजिक विकास मन्त्रालयले आर्थिक मामिला मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि पठाएको छ ।

मन्त्रालयका कानून अधिकृत दानबहादुर सुनारले बडघर प्रथाको संरक्षणका लागि पहल शुरू भएको बताउनुभयो । उहाँले सैद्धान्तिक सहमति प्राप्त भइसकेपछि थप प्रक्रिया अगाडि बढाइने बताउनुभयो ।

मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको गोदावरीमा आयोजित माघी महोत्सव कार्यक्रममा थारू समुदायको संस्कृति संरक्षणका लागि बडघर प्रथालाई मान्यता दिनेगरी ऐन बनाउन लागिएको जानकारी गराउनुभयो ।

यस प्रथाले कानूनी मान्यता पाउन सकेमा कैलाली र कञ्चनपुरमा रहेका थारू (डगौरा) समुदायको संस्कृति संरक्षणमा टेवा पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो ।

गाउँको एक मुख्य व्यक्तिलाई बडघर अर्थात् भलमन्साका रूपमा छनौट गर्नुपर्ने प्रचलन थारू समुदायमा सदियौँदेखि रहेको छ । गाउँवासीले यो भूमिकामा रहने व्यक्तिले लाए अह्राएको काम गर्नुपर्ने हुन्छ ।

हरेक वर्ष माघी पर्व शुरू भएसँगै थारूबस्तीमा भलमन्साको छनोट गरिन्छ । भलमन्सा चयन भएसँगै निजको घरलाई ‘बडघर’का रूपमा चिन्ने गरिन्छ । ‘माघी’लाई यस समुदायमा नयाँ वर्ष आरम्भका रूपमा उल्लासपूर्वक मनाउने गरिन्छ ।

भलमन्सालाई सकभर सर्वसम्मतिले र त्यसो हुन नसके निर्वाचन प्रक्रिया वा गोला (चिट्ठा) प्रक्रिया अपनाएर छनौट गर्ने गरिन्छ । भलमन्साको मातहतमा गुरुवा, चिराकी, चौकीदार, अघरिया जस्ता पदमा समेत विभिन्न व्यक्तिको छनोट गरिन्छ ।

 

प्रकाशित : 27 January, 2025

प्रतिक्रिया दिनुहोस्