बारामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । माघ १४, बारामा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

आइतबार बाराको आदर्शकोतवाल गाउँपालिका–६ लौकाहा नजिक बी.आर. ३० एजे ३५२७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३-००१ च ६७८८ नम्बरको पिकअपले ठक्कर दिंदा भारत बिहारको बैरगनिया निवासी २५ वर्षीय आदित्यकुमार पाठकको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते पाठकको उपचारमा कलैयास्थित प्रादेशिक अस्पतालमा राति १० बजे मृत्यु भएको बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

मोटरसाइकलमा पछाडि सवार रौतहट गौर नगरपालिका–१ का २२ वर्षीय राजन दास गम्भीर घाइते भएका छन् । उनको टाउको, हात र पेटमा चोट लागेको छ । हाल उनी वीरगञ्जस्थित गण्डक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै बाराको कलैया उपमहानगरपालिका-४ नेपाल बैंक अगाडि ना४ख ४१८६ नम्बरको तेल ट्याङ्करले ना ४७ प ५९९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार रौतहट बृन्दावन नगरपालिका-३ निवासी ४० वर्षीया बबिता ठाकुरको मृत्यु भएको डिएसपी सापकोटाले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा गम्भीर घाइते ठाकुरको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको हो ।

उक्त मोटरसाइकलमा सवार उनकी १० वर्षीय छोरी मोनी ठाकुर घाइते भएकी छन् ।

दुर्घटनामा संलग्न तेल ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित : 27 January, 2025

प्रतिक्रिया दिनुहोस्