वाशिङटन डीसीमा खसेको जहाजमा थिए ६४ जना, उद्धार तथा खोजी कार्य जारी
काठमाडौं । माघ १७, अमेरिकाको वाशिङटन डीसीमा एक यात्रुवाहक हवाई जहाज र हेलिकप्टर ठोक्किएका छन् ।
अमेरिकाको संघीय नागरिक उड्डयन निकाय एफएएले स्थानीय समयअनुसार राति ९ बजेको समयमा आकाशमा अमेरिकन एयरलाइन्सको जहाज र अमेरिकी सेनाको ‘ब्ल्याक हक’ हेलिकप्टर ठोक्किएको हो ।
वाशिङटन डीसी भएर बग्ने पोटोम्याक नदीमा जहाज र हेलिकप्टर खसेका थिए । जहाजमा चालक दलका चार जनाका साथै ६० यात्रु रहेको हवाई उड्डयनका अधिकारीहरुले जानकारी दिएका छन् । सेनाको हेलिकप्टरमा तीन सैनिक रहेको र त्यसमा वरिष्ठ सैन्य अधिकारी भने सवार नरहेको जनाइएको छ । उक्त घटनामा के कति जना हताहत भए भन्ने जानकारी उपलब्ध गराइएको छैन । जहाज खसेको स्थलमा उद्धार तथा खोजी कार्य भइरहेको छ ।
यात्रुवाहक जहाज रेगन वाशिङटन नेसनल विमानस्थलको धावनमार्ग ३३ मा अवतरणका लागि जाँदै गर्दा आकाशमा सेनाको हेलिकप्टरसँग ठोक्किन पुगेको बीबीसीले जनाएको छ । दुर्घटनापछि रेगन विमानस्थल बन्द गरिएको छ भने बाहिरबाट आउँदै गरेका जहाजहरुलाई डलास विमानस्थलतर्फ डाइभर्ट गरिएको छ । साथै हवाई यात्रुलाई सुविधा प्रदान गर्न डीसीको मेट्रो रेल राति अबेरसम्म सञ्चालन हुने भएको छ ।