अपराध महाशाखा प्रमुख रमेश बस्नेतको स्वागत गर्दै सानुराम भट्टराईको बिदाइ

सहयात्रा टिभी

काठमाडौं । माघ २०, उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले सम्हालेका छन् । बस्नेतले शुक्रवारदेखि महाशाखाको जिम्मेवारी सम्हालेका हुन् ।

बस्नेतलाई महाशाखाका निवर्तमान प्रमुख एसएसपी सानुराम भट्टराईलाई स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका छन् । अपराध महाशाखाको प्रमुख रहँदा सहकारी ठगीका ‘हाइ प्रोफाइल’ अभियुक्तहरूको पक्राउदेखि डिजिटल अपराधहरूको सफल अनुसन्धान गरेका भट्टराईको हेडक्वार्टरमा सरुवा भएको छ ।

महाशाखाको प्रमुख भएर जिम्मेवारीमा आएका एसएसपी रमेश बस्नेतले पहिले प्रहरी वृत्त दरबारमार्ग, काठमाडौं प्रहरीको मुद्दा शाखा लगायतमा रहेर काम गरिसकेका छन् । पछिल्लो समय उनी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए ।

भट्टराईले ९ महिनाको अवधिमा आफूले उल्लेख्य काम गरेको बताउँदै नागरिक समाजबाट त्यसको मूल्यांकन हुने बताए । उनले भने, ‘मेरो कार्यकालभरि अपराध अनुसन्धानसँगै फरार अभियुक्तहरूलाई समात्ने अभियानलाई प्राथमिकता दिइएको थियो ।’

अपराधका शैली र प्रविधि फेरिएसँगै उपत्यका अपराध महाशाखाको परम्परागत कार्यशैली तथा अपराध अनुसन्धानको दायर पनि फेरिएकाले नयाँ नेतृत्वले सोही अनुसार क्षमता देखाउने अपेक्षा राखिएको उनले बताए ।

 

प्रकाशित : 2 February, 2025

प्रतिक्रिया दिनुहोस्