सहकारीको रकम अपचलन मुद्दामा अध्यक्ष रौनियार कारागार चलान
काठमाडौं । माघ २०, जिल्ला अदालत मोरङले धनपालथान गाउँपालिका–४ कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ ।
तीन दिनको बयान र आइतबार भएको थुनछेक बहसपछि सहकारीको रकम अपचलन मुद्दामा जिल्ला अदालत मोरङका न्यायाधीश अरुणकुमार झाको इजलासले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
आदेशपछि उनी कारागार चलान भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । उमागौरी सहकारी ठगी प्रकरणका मुख्य आरोपी रौनियार हुन् ।
उनकै सक्रियतामा स्थापना भएको यो सहकारीको रकम अपचलन मुद्दामा संघीय संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अन्जला कोइराला पनि प्रतिवादी छन् ।
अध्यक्ष रौनियार र सांसद पत्नी कोइरालासहित यो मुद्दामा २६ जनालाई प्रतिवादी बनाएर मंसिर २७ गते सहकारीको रकम अपचलन मुद्दा दायर भएको थियो ।