राष्ट्रपति पौडेलबाट हनुमानढोका पुगेर वसन्त श्रवण
काठमाडौं । माघ २१, राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त श्रवण गरेका छन् । सो अवसरमा राष्ट्रपति पौडेलले पुजारीबाट फूलमाला, टिका र प्रसाद ग्रहणसमेत गरे ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले उपलब्ध गराएको बिहान ७ बजेर ५५ मिनेटको शुभसाइतमा उनले वसन्त श्रवण गरेका हुन् । वसन्त पञ्चमीको दिन हरेक वर्ष राष्ट्रप्रमुखको रूपमा राष्ट्रपतिले वसन्त श्रवण गर्ने चलन रहिआएको छ । वसन्त श्रवण श्रीमद्भागवत महापुराणको कथामा आधारित भएको मानिन्छ ।
राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । सोही अवसरमा सरकारका उच्च अधिकृतकासाथै सुरक्षाअङ्गको प्रमुखहरु सहभागी थिए ।
वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ । वसन्त श्रवण गरेमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास छ ।