रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता

सहयात्रा टिभी

काठमाडौं । माघ २२, पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आज चितवनमा पनि मुद्दा दर्ता भएको छ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा उनीसहितका १५ जनाविरुद्ध आज मुद्दा दर्ता भएको हो ।

चितवन जिल्ला अदालतमा सोमबार नै मुद्दा दर्ताको तयारी थियो तर सरकारी वकिलहरूको कार्य व्यस्तताका कारण आज (मंगलबार) दर्ता गरिएको हो ।

सरकारी वकिल कार्यालयले लामिछानेसहित थप १५ जना व्यक्ति र ६ वटा संस्थाविरुद्ध सहकारीको रकम हिनामिना गरेर ठगी गरेको अभियोगसहित मुद्दा दर्ता गरेको हो ।

चितवन जिल्ला सरकारी वकिल कार्यालयले यसअघि ढाँचा र तथ्यतथ्यांक नमिलेको भन्दै पुनः अनुसन्धान प्रक्रिया सकेर प्रतिवेदन पेस गर्न प्रतिवेदनको फाइल प्रहरीलाई फर्काएको थियो ।

त्यसको केही दिनपछि प्रहरीले प्रक्रिया मिलाएर सरकारी वकिल कार्यालयमा फाइल पठाएको थियो । त्यसको अध्ययन सकेर आज (मंगलबार) सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो ।

रवि लामिछाने, रामबहादुर खनाल, रबिना रिमाल, विशाल तामाङ,नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफ अलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला , शिवबहादुर गुरुङ र प्रगती श्रेष्ठविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

 

प्रकाशित : 4 February, 2025

प्रतिक्रिया दिनुहोस्