बेलायती राजकुमारले भक्तपुर अवलोकन गदै कुँदे काठमा बुट्टा
काठमाडौं । माघ २३, नेपाल भ्रमणमा आएका बेलायती राजकुमार एडवर्डले भक्तपुर क्षेत्रको अवलोकन गरेका छन् । सो क्रममा उनी नेपाली परम्परागत काष्ठकलाको काममा पनि संलग्न भएका छन् ।
उनले हथौडा र छिनो प्रयोग गरेर केहीबेर काठमा बुट्टा कुँद्ने काम समेत गरेका थिए । नवदूर्गा परिसरको नमूना घरमा उनले काठमा बुट्टा कुँदेका थिए ।
उनलाई सम्पदा संरक्षणविद एवम् आर्किटेक्ट रविन्द्र पुरीले भक्तपुर घुमाएका थिए ।
उनले कमलविनायकमा सञ्चालन गरेको नेपाल नेपाल भोकेसनल एकेडेमीमा राजकुमार एडवर्डलाई घुमाएका थिए । त्यहाँ केही युवाहरुले काष्ठकलाका काम गरिरहेका थिए ।
त्यसबारे एडवर्डले बुट्टा कसरी बनाउने भनेर सोधेका थिए । त्यसपछि एक युवकले आफूले बुट्टा कुँदेर देखाएपछि राजकुमार एडवर्डले पनि आफैंले छिनो र हथौडा चलाएर केहीबेर बुट्टा कुँदेका थिए ।
पत्नी सोफीसहित भक्तपुर दरबार क्षेत्र अवलोकनमा गएका उनले त्यहाँका परम्परागत कला र सँस्कृतिको चाखपूर्वक अवलोकन गरेका थिए ।
निजी भ्रमणको सिलसिलामा उनी मंगलबार काठमाडौं आएका थिए । उनी यही माघ २७ गते स्वदेश फर्किने छन् ।