ब्रिटिश सेनामा भर्ती भएका नेपालीलाई बेलायती राजकुमारले गराए शपथ
काठमाडौं । माघ २५, नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार एडवार्डले ब्रिटिश सेनामा नयाँ भर्ती भएका २७४ जना नेपालीलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
पोखराको ब्रिटिश क्याम्पमा आज बिहान आयोजित समारोहमा हिन्दु धर्मशास्त्र अनुसार स्वस्तिशान्ति मन्त्र बाचनपछि राजकुमार दम्पतीले नेपाली जवानलाई सपथ खुवाएका हुन् । साथै उनले दीर्घ सेवा गरेका बेलायती पूर्व सैनिकलाई पनि तक्मा प्रदान गरेका छन् ।
राजकुमार एडवार्ड दम्पत्ति हिजो टाइगर माउन्टेन लजमा बास बसेका थिए । त्यहाँबाट हिमश्रृङ्खला अवलोकन गरेर उनी दीपस्थित ब्रिटिश क्याम्पमा आइपुगेका हुन् ।
राजकुमार दम्पतीले बिहीबार नै वेल्फेयर ट्रस्टमा आश्रित पूर्व गोर्खा सैनिकका परिवारलाई भेटेका थिए भने आज बेलायती सेनामा भर्ती भएका जवान परिवारलाई भेटेका छन् ।
उनी आज लुम्ले गाउँ भ्रमण, घान्द्रुक लगायतका ठाउँमा हाइकिङ गर्ने र आज चन्द्रकोट भन्ने गाउँमा बास बस्ने कार्यतालिका छ ।
निजी भ्रमणको सिलसिलामा एडवार्ड दम्पति गत मंगलबार काठमाडौं आएका थिए । उनीहरु यही माघ २७ गते स्वदेश फर्किने छन् ।