प्लास्टिकको फोहोरलाई पुन: प्रयोग गरी उद्यम

काठमाडौं । फागुन ३,काठमाडौंको शंखरापुर नगरपालिकामा ‘प्लास्टिक फोहोर व्यवस्थापन तथा प्लास्टिकको विकल्पका वस्तुहरूको चक्रिय अर्थव्यवस्थामा आधारित उद्यमहरूको प्रवर्द्धन गर्ने’ परियोजना सम्पन्न भएको छ ।
एकीकृत सहरी विकास केन्द्र र ब्लु वेष्ट टु भ्यालु प्रालिले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालको आर्थिक सहयोगमा सञ्चालन गरेको परियोजना सम्पन्न भएको केन्द्रका कार्यकारी निर्देशक नविन विकास महर्जनले जानकारी दिए ।
२०८० साल साउनमा सुरु भएको यो परियोजनामार्फत उद्यमशीलताको विकास, व्यावसायिक योजना जस्ता कार्यक्रमहरु गरी ३ वटा विभिन्न फोहोर भनी पुनः चक्रण गर्न कठिन वस्तुहरुलाई पुनःप्रयोगीय वस्तुको रुपमा रुपान्तरण गरी उत्पादन सम्बन्धी व्यवसायको सम्भावनालाई मूर्तरुप दिइएको छ । जसमध्ये खेर जाने प्लास्टिकको प्याकेजिङ्गहरुबाट प्रोशोधन गरी बुनेको कपडा र ब्याग बनाउने, शिशाबाट सी ग्लास बनाउने र विभिन्न प्लाष्टिकबाट फर्निचर बनाउने काम सुरु भएको हो ।
परियोजनामार्फत अनुसन्धान गरिएकोबारे जानकारी दिन आयोजित कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने ब्लु वेष्ट टु भ्यालु प्रालिका महाप्रबन्धक रोनिश शाक्यले परियोजनाका गतिविधिहरू र सफलताका बारेमा प्रस्तुतीकरण दिएका थिए ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपालका तर्फबाट सहायक आवशीय प्रतिनिधि जुलियन सेवीलार्दले नेपालमा प्रमुख कार्यक्रमका रुपमा वातावरण तथा जलवायु परिवर्तन र सुशासन रहेको बताए । उनले यस्ता फोहोर भनेर फालिएका वस्तुहरुलाई पुनः प्रशोधन गरी नयाँ प्रयोग गर्ने सामानहरु बनाउने मेसिनहरू शंखरापुर नगरपालिकालाई हस्तान्तरणसमेत गरे ।
एकीकृत सहरी विकास केन्द्रका कार्यकारी निर्देशक नविन विकास महर्जनले यसले एक त फोहोरको मात्रा अझै घटाउने, रोजगारी सिर्जना र वातावरणीय न्याय दिने विषयमा एक कदम अगाडि बढाएको बताए । सो परियोजनाबाट सञ्चालित उद्यममा कार्यरत शंखरापुर नगरपालिकाका बासिन्दा सिर्जना शाही र सुजित श्रेष्ठले आफ्ना अनुभवहरू सुनाएका थिए ।
कार्यक्रममा नगर प्रमुखले परियोजनाअन्तर्गत प्रयोग गरिएका मेसिनहरू फोहोर व्यवस्थापनमा कार्यरत ब्लु वेष्ट टु भ्यालु प्रालिलाई हस्तान्तरण गरे । साथै नगरपालिकाको जिम्मेवारी रहेको फोहोर व्यवस्थापन कार्यमा यस्ता नविनतम उद्यममार्फत थप उत्कृष्टता बढ्नु पर्ने र यस काममा साथ सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रमको सञ्चालन एकीकृत सहरी विकास केन्द्रबाट भूमिका रिजालले गरेकी थिइन् ।