नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । फागुन ४, भारतको राजधानी नयाँदिल्लीस्थित रेलवे स्टेसनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु भएको छ । २५ जना घाइते भएका छन् ।

यो घटना प्लेटफर्म नम्बर १३ र १४ मा गएराति करिब साढे ९ बजेतिर भएको बताइएको छ । त्यतिबेला रेलवे स्टेसनमा मानिसहरुको निकै भिड थियो ।

यो घटना हुनुमा मुख्य दुई कारण मानिएको छ ।

एक- अत्यधिक भिडका कारण यात्रुहरुलाई श्वासप्रश्वासमा समस्या भयो । केही यात्रु बेहोस भए । त्यसपछि भागदौड मच्चियो ।

दुई- प्लेटफर्म नम्बर १३ मा १६ नम्बर प्लेटफर्ममा रेल आएको अनाउन्समेन्ट भयो । त्यसपछि यात्रुहरु त्यतैतर्फ जानका लागि तछाडमछाड गर्न थाले । त्यसपछि मानिसहरु किल्चिए ।

रेल मन्त्रालयका प्रवक्ता दिलिप कुमारका अनुसार राति प्रयागराज एक्सप्रेस र मगध एक्सप्रेस रेलका थुप्रै प्यासेन्जरहरु स्टेसनमा जम्मा भएका थिए । सबैलाई यो नै आजको अन्तिम रेल हो भन्ने लाग्यो अनि सबैजना रेल चढ्न तछाडमछाड गर्दा भागदौड मच्चिएको बताए ।

प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह र रेलमन्त्री अश्विनी वैष्णवले भागदौडमा ज्यान जानेहरुप्रति श्रद्धाञ्जली र घाइतेहरुप्रति स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रकाशित : 16 February, 2025

प्रतिक्रिया दिनुहोस्