दुखी आत्माले यूएईमा प्रदर्शन अनुमति पाएन, कतारमा सेन्सर पास
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । फागुन ४, नेपालमा शुक्रबारदेखि रिलिजमा आएको फिल्म ‘दुखी आत्मा’लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिइरहेका छन् । हलमा फिल्म हेर्न पुगेका अधिकांश दर्शकले यसको कथावस्तु, कलाकारहरुको अभिनय, प्रस्तुति मन परेको बताए । एउटा नयाँ कथामा फिल्म बनेको भन्दै उनीहरुले सबैलाई हेर्न आग्रह गरे ।
तर, यो फिल्म यूएईका दर्शकले भने हेर्न नपाउने भएका छन् । यो फिल्म युएइको सेन्सरमा पास हुन सकेन । युएइमा दुई पटक सेन्सर गर्दा पनि पास नभएकाले रिलिज हुन नसकेको निर्देशक तथा लेखक दीपेन्द्र लामाले जानकारी दिए ।
पहिलो पटक फिल्मको सेन्सर फेल भएपछि केही दृश्य काँटछाँट गर्न लगाइएको थियो । तर, दोस्रो पटक काँटछाँट गरेर सेन्सरमा लैजाँदा पनि फेल भएको निर्माणपक्षले बताएको छ । मिडिया कन्टेन्टको सिमारेखा भित्र नपरेका कारण फिल्म यूएईमा पास हुन नसकेको हो । युएइमा ‘यूएई मिडिया काउन्सिलले’ फिल्म हेर्ने नियम छ ।
युएइमा फिल्म पास नभएपछि बहराइनमा पनि रिलिज नहुने पक्का भएको छ । युएइकै सेन्सरको निर्णय बहराइनमा पनि लागू हुने भएका कारण यस्तो भएको हो । तर, यो फिल्म कतारको सेन्सरबाट भने पास भएको छ । विना काँटछाँट फिल्म कतारको सेन्सरबाट पास भएको हो । कतारमा शुक्रबारदेखि नै फिल्म लागिरहेको छ ।