भारतमा बी-टेक पढिरहेकी नेपाली छात्राको होस्टलमा शंकास्पद मृत्यु

काठमाडौं । फागुन ५, भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत् एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छन् ।
ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् ।
कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको द न्यू इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ । कलेजले उनी मृत भेटिएलगत्तै प्रहरीलाई खबर गरिएको भनेको छ ।
तर, ओडिसाको पत्रिका संवादको अंग्रेजी संस्करणले भने उनी आफ्नो पुरुष साथीबाट दुर्व्यवहारमा परेको उल्लेख गर्दै मृत्युको यकिन कारण खुलिनसकेको उल्लेख गरेको छ ।
यही बीचमा सामाजिक सञ्जाल एक्समा एउटा थ्रेड भाइरल भएको छ, जसमा उनलाई एक जना व्यक्तिले दुर्व्यवहार गरेर शहर छाडेर भाग्न लागेको भनिएको छ ।
तर, कलेजले केही नगरेका कारणले यस्तो घटना भएको त्यसमा उल्लेख गरिएको छ । अहिले प्रदर्शन गर्न खोज्ने विद्यार्थीहरुलाई समेत सुरक्षागार्ड र होस्टलका वार्डेनहरु प्रयोग गरेर दबाउन खोजिएको भनिएको छ ।
प्रदर्शन बढ्दै गएपछि कलेजमा प्रहरी परिचालन गरेर स्थितिलाई साम्य पारिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । लम्सालको शवलाई पोष्टमार्टमका लागि क्यापिटल अस्पताल पठाइएको छ ।
यो घटनापछि कलेजमा पढिरहेका नेपाली विद्यार्थीहरुसँग प्रशासनले छलफल गरेको छ । र, उनीहरुलाई परिस्थिति सामान्य नभएसम्म बिदा बस्न भनेको छ ।