सार्वजनिक सवारीसाधन चालकलाई छुट्टै अनुमतिपत्रको व्यवस्था

काठमाडौं । फागुन ६, सरकारले सार्वजनिक सवारीसाधन तथा स्कुल बस चालकका लागि ‘व्यावसायिक चालक अनुमति’ अनिवार्य गर्ने तयारी गरेको छ ।
एकसाथ धेरै यात्रु लिएर यात्रा गर्ने सवारीसाधन चालकका आचरणबारे प्रश्न उठिरहेका बेला सरकारले कानुनमै यस्तो प्रावधान समेट्न लागेको हो ।
भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले ‘सवारी तथा यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१’ को मस्यौदामा व्यावसायिक चालक अनुमतिपत्र अनिवार्य गर्न लागिएको उल्लेख छ ।
यो विधेयकले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ लाई विस्थापित गर्ने छ । विद्यमान ऐनमा व्यावसायिक चालक अनुमतिपत्र बारे उल्लेख छैन । पछिल्लो समय विद्यालय बस दुर्घटनाको क्रम बढेको छ । अघिल्लो साता काठमाडौंमै दुई ठूला दुर्घटनामा विद्यार्थी र शिक्षकहरूको ज्यान गएको थियो ।
सार्वजनिक सवारी र स्कुल बस दुर्घटनामा चालकको लापरबाहीबारे धेरे गुनासो आउने गरेको भन्दै भौतिक मन्त्रालयले अब धेरै यात्रु बोकेर हिँड्नुपर्ने सार्वजनिक सवारीसाधन र स्कुल बस चलाउने चालकलाई थप जिम्मेवार बनाउने उद्देश्य सहित छुट्टै चालक अनुमतिपत्रको व्यवस्था गर्न लागेको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलका अनुसार व्यावसायिक सवारी चालक अझ बढी जिम्मेवार हुनुपर्ने र सोही प्रयोजनका लागि यस्तो नियम ल्याउने तयारी गरिएको हो ।
कसैले चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउन पाइने छैन । साथै, आफ्नो स्वामित्वको सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई चलाउन दिन पाइने छैन ।
मन्त्रालयले नयाँ कानुनको मस्यौदा सरोकारवालाको रायका लागि सार्वजनिक समेत गरेको छ । सरोकारवालाले १५ दिनभित्र दिने राय–सुझाव समेटेर यो विधेयक अगाडि बढाउने तयारी मन्त्रालयको छ ।
कसैले चालक अनुमतिपत्र प्राप्त नगरी सवारी चलाउन पाइने छैन । साथै, आफ्नो स्वामित्वको सवारी चालक अनुमतिपत्र प्राप्त नगरेको व्यक्तिलाई चलाउन दिन पाइने छैन ।
यो विद्यमान कानुनमा समेत उल्लेख छ । तर, चालक अनुमति प्राप्त नगरेको व्यक्तिलाई सिकाउने प्रयोजनका लागि भने सवारीसाधन चलाउन दिने गरी प्रदेश कानुनमा व्यवस्था गर्न सकिने विधेयकमा उल्लेख छ ।
कसैले व्यावसायिक सवारीसाधन चलाउन चाहे प्रदेश कानुन बमोजिम तोकिएको निकायबाट व्यावसायिक सवारी चालक अनुमतिपत्र लिन सकिने विधेयकको मस्यौदामा उल्लेख छ ।
तर, मानसिक तथा शारीरिक स्वास्थ्य अवस्था, ट्राफिक नियम उल्लंघन सम्बन्धी अभिलेख, मादक पदार्थ वा लागु पदार्थ सेवा सम्बन्धी दुव्र्यसन, आपराधिक एवं गैरसामाजिक क्रियाकलापमा संलग्न अभिलेख भेटिए त्यस्ता व्यक्तिले यस्तो सवारी चालक अनुमतिपत्र पाउने छैनन् ।