बाँकेमा वन्यजन्तुबाट क्षति बेहोरेका परिवारलाई क्षतिपूर्ति वितरण

सहयात्रा टिभी

काठमाडौं । फागुन ६, बाँकेमा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति बेहोरेका ३७ परिवारलाई राहत प्रदान गरिएको छ ।

लुम्बिनी प्रदेश सरकारले उपलब्ध गराएको रकम बाँकेको एउटा नगरपालिका र तीन वटा गाउँपालिकाका ३७ परिवारलाई राहत स्वरूप प्रदान गरिएको हो ।

राप्तीसोनारी गाउँपालिकामा ३३ परिवार, खजुरा गाउँपालिकाका एक, बैजनाथका एक र कोहलपुर नगरपालिकाका दुई परिवारलाई क्षतिपूर्ति वितरण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

कार्यालयका सिनियर वन डिभिजनल अधिकृत शङ्करप्रसाद गुप्ताले दुई वर्षको अवधिमा वन्यजन्तुबाट मानवीय तथा पशुधनको क्षति भएका ३७ परिवारलाई राहत वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ३६ पशुधन पीडितलाई नौ लाख १२ हजार पाँच सय र एक मानवीय पीडितलाई १० लाख गरी १९ लाख १२ हजार पाँच सय रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको हो ।

यसअघि निकुञ्जमार्फत सङ्घीय सरकारले राहत उपलब्ध गराउँदै आएकामा वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका २०८० बनेपछि प्रदेश सरकारले डिभिजन वन कार्यालयमार्फत राहत उपलब्ध गराउन थालेको हो ।

 

प्रकाशित : 18 February, 2025

प्रतिक्रिया दिनुहोस्